काठमाडौंमा चिसो बढ्यो, तापक्रम ३ डिग्रीमा झर्‍यो; कोसीमा वर्षा र हिमपातको सम्भावना

 पुष २१, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं उपत्यकामा अत्यधिक जाडो र हुस्सु

काठमाडौं, पुष २१ – काठमाडौं उपत्यकामा चिसो अत्यधिक बढेको छ। तापक्रम घटेसँगै उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् बिनु महर्जनका अनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम करिब ३ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री तापक्रम मापन गरिएको छ। तापक्रम घटेसँगै उपत्यकामा चिसो बढ्नुका साथै घाम पनि कम देखिन थालेको छ।

यसैबीच, देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा भने हुस्सु र कुहिरो लागेको छ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ। विशेषगरी कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा तराईका अधिकांश स्थानमा हुस्सु कायम रहने पूर्वानुमान गरिएको छ।

यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढ्ने भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ। मन्त्रालयले विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई चिसोबाट बढी समस्या हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।
रुस–युक्रेन युद्ध: बैतडीका रुसी सेनामा कार्यरत नेपाली युवकको मृत्यु

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?