“कांग्रेस लास र दासहरूको पार्टी होइन”: विशेष महाधिवेशनमा गगन-विश्वको बोल्ड बयान
भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा महामन्त्रीद्वयले गरे खुलेर आलोचना, पुराना नेतालाई सन्यासको आह्वान
काठमाडौं, २७ पुष – नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको वर्तमान अवस्थामाथि कडा टिप्पणी गर्दै पुस्ता परिवर्तनको जोडदार माग गरेका छन्।
भृकुटीमण्डपमा आइतबार सुरु भएको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै गगन थापाले कांग्रेसलाई “लास र दासहरूको पार्टी” भन्दै अस्वीकार गरे। “कांग्रेस लास र दासहरूको पार्टी होइन,” उनले भने, “कांग्रेसमा कसैको हामी दास छैनौं। हामी बोल्न छाड्ने छैनौं।”
गणतन्त्रमा ‘नेपोबेबी’ को संस्कृति विकसित भएकोमा आक्रोश व्यक्त गर्दै गगनले भने, “गणतन्त्रमा ‘नेपोबेबी’ भएपछि जनता रिसाएकै हुन्।” उनले थपे, “महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व छान्छ।”
विश्वप्रकाशको तीखो प्रश्न
महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ गतेको युवा आन्दोलनलाई सम्झाउँदै नेतृत्वलाई प्रश्न गरे, “भदौ २३ गते संसद् भवन तोडफोड गर्न दिएको भए के जान्थ्यो?” उनले थपे, “युवाको ज्यान लिनुभन्दा संसद् भवन भत्काउन दिनुपर्थ्यो।”
विश्वप्रकाशले पार्टीको कमजोरीलाई स्वीकार गर्दै भने, “हामीले आफ्नो कमजोरीलाई स्वीकारेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुपर्छ। नागरिक असन्तुष्टिको केसरा केसरालाई विशेष महाधिवेशनमा जाँच्नुपर्छ।”
के फुट्छ त कांग्रेस : देउवाको ग्रहले के भन्छ?
विश्वप्रकाशको प्रतिवेदन: युवालाई प्राथमिकता
विश्वप्रकाशको प्रतिवेदनमा केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जनालाई समावेश गर्ने र व्यवसायीहरूका लागि ल्याट्रल एन्ट्रीको प्रस्ताव गरिएको छ। उनले भने, “पुरानै बाटोमा हिँडेर नयाँ यात्रा गर्न सकिन्न।”
पाकाहरूको उत्साह र समर्थन
७८ वर्षीय गोपालमान श्रेष्ठले मञ्चबाट भने, “विश्व र गगनलाई भविष्यका तारा भन्न सकिन्छ। अब इतिहासको मोल तिरेर बस्न मिल्दैन।” उनले पार्टीभन्दा माथि उठेर युवालाई हस्तान्तरण गर्नुपर्ने बताए।
८१ वर्षीया डमराकुमारी अर्यालले भनिन्, “बीपीले बनाएको जस्तो कांग्रेस बनाउन युवा आउनुपर्छ। त्यस्तो कांग्रेस गगन-विश्वले बनाउन सक्छन्।”
९३ वर्षीय नेत्रप्रसाद तिवारीले भने, “देउवाले कांग्रेस बिगारे। अब गगन-विश्व आउनुपर्छ। राणा-राजा फालेको कांग्रेस जोगाउने दायित्व गगन-विश्वको काँधमा आएको छ।”
संख्यामा बहुमत
गगन थापाले जानकारी दिएअनुसार ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन्। पार्टीमा देशभरबाट ४ हजार ७४३ जना प्रतिनिधि रहेका छन्।
अर्जुननरसिंहको समर्थन
पार्टी नेता अर्जुननरसिंह केसीले पनि विशेष महाधिवेशनलाई समर्थन गर्दै भने, “विशेष महाधिवेशनले निराशालाई आशामा बदल्नुपर्छ।”
चन्द्र भण्डारीले देउवालाई सम्बोधन गर्दै भने, “घेरा छाडेर नेतृत्व हस्तान्तरण गर्न आउनुस्।”
देउवा समूहको प्रतिक्रिया
विशेष महाधिवेशन भइरहेका बेला सभापति शेरबहादुर देउवाले आफ्ना निकट सहयोगीहरूलाई निवासमा बोलाएका थिए। संस्थापन समूहका नेताहरूले फेसबुकमार्फत गगन-विश्वको प्रतिवाद गरिरहेका छन्।
सोमबार बन्दसत्र
विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजे सुरु हुने भएको छ, जहाँ पार्टीको भविष्य दिशासम्बन्धी महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।




तपाईंको प्रतिक्रिया