ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षामा सरकारको पूर्ण रोक, वैशाख १ देखि बन्द नभए कारबाही
काठमाडौं, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरूलाई अनावश्यक आर्थिक भार परेको र मनोविज्ञानमा नकारात्मक असर पुगेको भन्दै देशभर सञ्चालन भइरहेका ‘ब्रिज कोर्स’ र ‘प्रवेश परीक्षा तयारी’ (Entrance Preparation) कक्षाहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
नवनियुक्त शिक्षा मन्त्री सस्मित पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट आगामी वैशाख १ गतेदेखि यस्ता सबै प्रकारका कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हो।
किन लगाइयो रोक?
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, विद्यालय तह र उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअगाडि निजी संस्थाहरूले सञ्चालन गर्ने यस्ता तयारी कक्षाहरूले शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्याएको ठहर गरिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाका अनुसार यसका मुख्य कारणहरू निम्न छन्:
विद्यार्थीको मनोविज्ञान: भर्ना हुनुअगावै यस्ता कक्षाले विद्यार्थीमा अनावश्यक मानसिक दबाब सिर्जना गरेको।
आर्थिक बोझ: अभिभावक र विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थपिएको।
असमानता: यस्ता महँगा कोर्सले शिक्षामा सबैको समान पहुँचलाई नकारात्मक प्रभाव पारेको।
अनुगमन र कारबाहीको चेतावनी
मन्त्रालयले यो निर्णय कार्यान्वयन भए/नभएको कडाइका साथ अनुगमन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। यदि कुनै संस्थाले वैशाख १ गतेपछि पनि लुकीछिपी वा खुल्ला रूपमा ब्रिज कोर्स वा तयारी कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ।
नयाँ नेतृत्वको ‘एक्सन’
युवा मन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेको केही दिनभित्रै शैक्षिक क्षेत्रको यो पुरानो र विवादित समस्यालाई सम्बोधन गर्दै यस्तो ‘बोल्ड’ निर्णय लिएका हुन्। यस निर्णयले विशेषगरी एसईई (SEE) दिएर बसेका र उच्च शिक्षाको तयारीमा रहेका हजारौँ विद्यार्थी र अभिभावकहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।

तपाईंको प्रतिक्रिया