एकचोटि को नेपाली सधैँको नेपाली

 चैत २८, २०८२

✍ लेखा खबर संवाददाता


एक हातमा नेपालको मन्त्री पद र अर्को हातमा विदेशी पासपोर्ट बोकेको व्यक्तिको व्यङ्ग्यात्मक चित्र

काठमाडौँ, २८ चैत । नेपालमा मात्रै बसेर अब कुनै काम छैन। देशको अवस्था र भविष्य हेर्दा विदेश जानु नै बुद्धिमानी देखिन्छ। पीआर, टीआर वा ग्रीन कार्ड, जे मिल्छ त्यही लिनुस् र सुरक्षित हुनुस्। यहाँको सम्पत्ति पनि हुन्डीमार्फत विदेश नै पुर्‍याउनुस्, किनकि यहाँ राख्नुको अब कुनै अर्थ छैन।

“यदि उतै राम्रो भयो भने उतै रमाउनुस्, तर यदि भएन भने फेरि नेपाल फर्कन सकिन्छ।”

फर्किँदा भन्न पाइन्छ, “विदेशको करोडौँ डलरको जागिर र सुखसयल छोडेर देशको मायाले आएको!” यसो भन्दा यहाँ मान-प्रतिष्ठा पनि पाइन्छ र सोझा जनताले पत्याउँछन् पनि।

सत्ता र नागरिकताको खेल

नेपाल आएपछि यहाँको मन्त्री, सभासद वा कुनै ठूलो पद पाउने निश्चित भयो भने मात्र उताको नागरिकता त्याग गर्ने ‘नाटक’ गर्नुस्। यहाँ एकै दिनमा नागरिकता पाइन्छ र पासपोर्ट त घरमै आइपुग्छ। पदमा बसेपछि शासन गर्नुस् र अघाउन्जेल भ्रष्टाचार गर्नुस्।

कमाएको पैसा फेरि बाहिरै पठाउनुस्, किनकि यहाँ राख्दा समातिने डर हुन्छ। बाहिर पैसा पठाउँदा छोराछोरी र आफन्तले मज्जाले मस्ती गर्न पाउँछन्।

अन्तिम सुरक्षा: फेरि विदेश

जब कार्यकाल सकिन्छ वा यहाँ अब केही हुन्न भन्ने लाग्छ, अथवा भ्रष्टाचारमा समातिने डर हुन्छ, तब फेरि सरासर विदेशै जानुस्। उता पहिले नै सबै सेटलमेन्ट भइसकेको हुन्छ, त्यसैले कुनै चिन्ता हुँदैन।

नेपालमा मात्र बस्ने र एउटा देशको मात्र नागरिक हुने गल्ती कहिल्यै नगर्नुस्। दुवैतिर हात माथि पार्नु नै अहिलेको वास्तविक चलाखी हो।

प्रधानमन्त्री बालेनको सम्बोधन विना सकियो संसद्को पहिलो अधिवेशन, परम्परा तोडिएको हो कि लोकतान्त्रिक पद्धति?

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?