पोखरा विमानस्थलमा ‘सटल बस’ सेवा सुरु: असारसम्म निःशुल्क, साउनदेखि मुख्य पर्यटकीय क्षेत्र जोड्ने लक्ष्य
काठमाडौँ, बैशाख २ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि हवाई यात्रुहरूको सुविधाका लागि ‘सटल बस’ सेवा सुरु भएको छ। पोखरा महानगरपालिकाले विभिन्न बैंक र यातायात व्यवसायीसँगको सहकार्यमा मंगलबारदेखि दुईवटा सुविधासम्पन्न विद्युतीय बस सञ्चालनमा ल्याएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विमानस्थलदेखि अमरसिंह चोकसम्म चल्ने उक्त सेवाको शुभारम्भ गर्नुभयो। विमानस्थलमा ओर्लिने यात्रुहरूले ट्याक्सीको चर्को भाडा तिर्नुपरेको र राइड सेयरिङ प्रयोग गर्दा समेत विवाद हुने गरेको गुनासो बढेपछि महानगरले यो वैकल्पिक व्यवस्था गरेको हो। यसअघि धेरै यात्रुहरू सार्वजनिक सवारी साधन भेट्टाउन विमानस्थलबाट करिब १५ मिनेट हिँडेर अमरसिंह चोक पुग्न बाध्य थिए।
गरिबीको कारण मेहनत नगर्नु मात्र होइन, राज्यको असफलता पनि हो: गृहमन्त्रीलाई खुला प्रश्न
असारसम्म परीक्षण काल
नगर प्रमुख आचार्यका अनुसार यो सेवा असार मसान्तसम्म ‘पाइलोटिङ’का रूपमा पूर्णतः निःशुल्क रहनेछ। त्यसपछिको प्रभावकारिता हेरेर साउन १ गतेदेखि यसलाई न्यूनतम शुल्कमा सञ्चालन गरिनेछ। साउनदेखि यो सेवालाई पूर्वमा बेग्नास ताल र पश्चिममा लेकसाइड (फेवाताल) सम्म विस्तार गर्ने महानगरको योजना छ।
सहकार्य र व्यवस्थापन
महानगर यातायात प्रालि काठमाडौँ, कृषि विकास बैंक र कामना सेवा विकास बैंकको साझेदारीमा यी बसहरू सञ्चालन गरिएका हुन्। बसहरू बिहान ६ बजेदेखि सुरु भई विमानस्थलमा हुने अन्तिम उडानको समयसम्म सञ्चालन हुनेछन्। तत्कालका लागि यी बसहरू पर्यटन बसपार्कमा रहेको चार्जिङ स्टेसनमा चार्ज गरिने व्यवस्था मिलाइएको छ।
सटल बस सेवाको शुभारम्भमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी नवीन कार्की लगायत पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो। यो सेवा सुरु भएसँगै पोखराको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने र यात्रुहरूको आर्थिक भार कम हुने विश्वास गरिएको छ।

तपाईंको प्रतिक्रिया