सरकारको चासोसँगै लाइसेन्स छपाइमा तीव्रता: दैनिक कति छापिन्छन् स्मार्ट कार्ड?
काठमाडौँ, बैशाख ११ । लामो समयको पर्खाइ र अन्यौलतापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ‘ब्याकलग’ (छाप्न बाँकी संख्या) नाटकीय रूपमा घट्न थालेको छ। नयाँ सरकार गठन भएसँगै यातायात व्यवस्था विभाग र सञ्चार मन्त्रालयबीचको समन्वयमा लाइसेन्स छपाइले ऐतिहासिक गति लिएको हो। केही समयअघिसम्म ३० लाख पुगेको ब्याकलग हाल घटेर २० लाखमा झरेको छ।
दैनिक ४० हजार कार्डको ‘रेकर्ड’ छपाइ
यातायात व्यवस्था विभागका अनुसार हाल काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा औसतमा प्रतिदिन ४० हजार थान लाइसेन्स छपाइ भइरहेको छ। विभागले पछिल्लो एक महिनामा मात्रै ८ देखि १० लाख लाइसेन्स देशका विभिन्न यातायात कार्यालयहरूमा पठाइसकेको छ।
विभागका प्रवक्ता गणेशमान सिंह राईका अनुसार, विगतमा आफ्नै मास प्रिन्टरबाट दैनिक ३ हजार मात्र छपाइ हुने गरेकोमा अहिले १३ गुणा बढी क्षमतामा काम भइरहेको छ। “सरकारको विशेष चासो र निर्देशनपछि सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ, जसले गर्दा थुप्रिएको ब्याकलग छिटो घट्दै गएको हो,” उनले भने।
आगजनीपछिको संकट र नयाँ प्रविधि
२०८१ सालको ‘जेनजी’ आन्दोलनका क्रममा यातायात विभागको केन्द्रीय कार्यालयमा भएको आगजनीले स्मार्ट कार्ड छाप्ने मेसिन र डेटाबेस समेत नष्ट गरेको थियो। सो संकटपछि सरकारले सुरक्षण मुद्रण केन्द्रसँग ‘जीटूजी’ (G2G) मोडलमा सम्झौता गरी २८ लाख लाइसेन्स छाप्ने जिम्मेवारी दिएको थियो।
अहिले छापिएका लाइसेन्सहरूमा पुरानो ‘चिप’ को सट्टा उच्च सुरक्षासहितको क्यूआर कोड प्रयोग गरिएको छ। जसमा तीन तहका ३९ वटा सुरक्षा विशेषताहरू समावेश छन्।
खटिएका पालिकामा ३ दिनभित्र हाजिर हुन कर्मचारीलाई अल्टिमेटम: नजानेमाथि विभागीय कारबाही हुने
२४ घण्टाभित्रै लाइसेन्स पाउने व्यवस्था
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हालै पनौतीस्थित केन्द्रको निरीक्षण गर्दै अब लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने दिन अन्त्य भएको घोषणा गर्नुभएको छ। सरकारको नयाँ लक्ष्य अनुसार, अब सेवाग्राहीले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स हातमा पाउने व्यवस्था लागू गरिएको छ।
हाल सुरक्षण मुद्रण केन्द्रले कार्ड छाप्ने, विभागले प्याकेजिङ गरी प्रदेशका कार्यालयमा पठाउने र कार्यालयहरूले वितरण गर्ने गरी तीन तहको संयन्त्रलाई सक्रिय बनाइएको छ। विभागले बाँकी रहेको २० लाख ब्याकलग पनि आगामी केही महिनाभित्रै शून्यमा झार्ने दाबी गरेको छ।

तपाईंको प्रतिक्रिया