इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने व्यक्ति पक्राउ: शिक्षा क्षेत्रका अधिकृत स्तरका सरकारी कर्मचारी रहेको खुलासा

 असार २२, २०८३

✍ लेखा खबर संवाददाता


इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने व्यक्ति पक्राउ: शिक्षा क्षेत्रका सरकारी कर्मचारी रहेको खुलासा

काठमाडौँ, असार २२ । ललितपुरको इमाडोलस्थित सार्वजनिक गल्लीमा हिँडिरहेकी एक युवतीमाथि बीच बाटोमै अश्लील व्यवहार प्रदर्शन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा बैतडी घर भई हाल इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका भट्ट शिक्षा क्षेत्रका अधिकृत स्तरका सरकारी कर्मचारी रहेको पुष्टि भएको छ।

घटना र सामाजिक सञ्जालमा भाइरल भिडियो

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी गौतम मिश्रका अनुसार, आइतबार साँझ करिब साढे ६ बजेतिर एक्लै बाटो हिँडिरहेकी युवतीलाई लक्षित गरी भट्टले आफ्नो कपडा खोली अश्लील हर्कत (गोप्य अङ्ग प्रदर्शन) गरेका थिए।

यस्तो संवेदनशील परिस्थितिमा धेरैजसो महिलाहरू डराउने वा चुपचाप भाग्ने गरे पनि पीडित युवतीले भने असाधारण साहस देखाएकी थिइन्। उनले तत्काल आफ्नो स्मार्टफोनको क्यामेरा खोली दुर्व्यवहार गर्ने व्यक्तिको पिछा गर्दै भिडियो रेकर्ड गरेकी थिइन्। भिडियोमा उनी भावविह्वल हुँदै मद्दतका लागि कराइरहेको र बाटोमा हिँडिरहेका अन्य व्यक्तिहरूसँग सहयोगको याचना गरिरहेको सुनिन्छ। उनले आफ्नो सुरक्षाका लागि साहस देखाउँदै ती पुरुषलाई रोक्ने प्रयास समेत गरेकी थिइन्।

पीडित युवतीले आइतबार साँझ नै उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गर्दै आरोपीलाई पक्राउ गर्न प्रहरी र समाजसँग आग्रह गरेकी थिइन्। उक्त भिडियो केही घण्टाभित्रै १३ लाखभन्दा बढी पटक हेरिएपछि चौतर्फी आक्रोश र बहस सिर्जना भएको थियो।

लुगालाई दोष दिने सोचमाथि प्रहार

पीडित युवतीले आफ्नो टिकटक भिडियोको क्याप्सनमा समाजको पुरातन सोचमाथि कडा प्रहार गर्दै लेखेकी छिन्-

“आज म एक्लै बाटो हिँडिरहेकी थिएँ। मैले छोटो लुगा लगाएकी पनि थिइनँ, सामान्य फुल प्यान्ट र टिसर्ट लगाएकी थिएँ। तर पनि करिब ४०-५० वर्षको मानिसले बीच बाटोमै अश्लील व्यवहार गर्‍यो। आज पनि धेरैले महिलाको लुगालाई दोष दिन खोज्छन्, तर आजको घटनाले फेरि देखायो कि समस्या लुगामा होइन, यस्तो गलत सोच भएका मानिसहरूमा छ।”

उनले सार्वजनिक ठाउँमा हिँड्दा हरेक नागरिकले सुरक्षित महसुस गर्न पाउनुपर्ने र यस्ता सामाजिक अपराधविरुद्ध सबैले आवाज उठाउन जरुरी रहेको उल्लेख गरेकी छिन्।

प्रविधिको सही सदुपयोग र ‘बाल्यकालको ट्रमा’

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हजारौँ नागरिकले युवतीको हिम्मतको तारिफ गरेका छन्। धेरैले यसलाई ‘स्मार्टफोनको सही एवं शक्तिशाली सदुपयोग’ का रूपमा व्याख्या गरेका छन्।

यस घटनाले समाजमा लामो समयदेखि दबिएर रहेका धेरै महिलाहरूको बाल्यकालको आघात (Trauma) लाई पनि सतहमा ल्याएको छ। भिडियो सार्वजनिक भएसँगै धेरै युवती तथा महिलाहरूले आफूहरू विद्यालय वा कलेज जाँदा यस्तै दुर्व्यवहारको सिकार भएको तर डरका कारण त्यतिबेला आवाज उठाउन नसकेको पीडादायी अनुभवहरू सेयर गरिरहेका छन्।

कमेन्ट बक्समा एक महिला प्रयोगकर्ताले लेखेकी छिन्-

“ओ बहिनी, तिमीले हाम्रो बाल्यकालको आघात (ट्रमा) निको पारिदियौ। हामीले जुन साहस गर्न सकेका थिएनौँ, त्यो आज तिमीले गरेर देखायौ। धन्यवाद यति साहसी बनिदिएकोमा।”

समाजवादको भेषमा सरकारी लुटतन्त्र: शिक्षामा ३% ‘समता शुल्क’ थपेर मध्यमवर्गको ढाड भाँच्ने खेल!

प्रहरीको सक्रियता र कानुनी प्रक्रिया

भिडियो भाइरल भए लगत्तै इमाडोल प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै सीसीटीभी फुटेज सङ्कलन र प्रविधिको प्रयोग गरी खोजी कार्य तीव्र पारेको थियो। पीडितको तर्फबाट किटानी जाहेरी प्राप्त भएलगत्तै ललितपुर प्रहरीले भट्टलाई नियन्त्रणमा लिएको हो।

जिम्मेवार सरकारी पदमा रहेका व्यक्तिबाटै सार्वजनिक स्थलमा महिलामाथि यस्तो लज्जास्पद र कानुनी रूपमा दण्डनीय हर्कत हुनुले प्रशासनिक वृत्तमा समेत गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले पक्राउ परेका भट्टमाथि सार्वजनिक स्थलमा अश्लील व्यवहार प्रदर्शन गरेको कसुर अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाएको जानकारी दिएको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?