सपिङको बिल माग्नुस्, लखपति बन्नुस्: सरकारको नयाँ नगद उपहार योजना

  घण्टा अगाडि

✍ लेखा खबर संवाददाता


सपिङको बिल माग्नुस्, 'लखपति' बन्नुस्: सरकारले दिनहुँ १ लाख ३३ हजार र महिनाको १० लाख उपहार बाँड्ने

काठमाडौँ, साउन ५ । अब बजारमा सामान वा सेवा खरिद गर्दा बिल (बीजक) लिनुभयो भने तपाईं सजिलै लखपति बन्न सक्नुहुनेछ। सरकारले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न र कर प्रणालीलाई पारदर्शी बनाउन नगद उपहारमा आधारित विशेष योजना सुरु गरेको छ।

अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गरी जारी गरेसँगै यो कार्यक्रम कार्यान्वयनमा आएको हो। स्वीकृत वार्षिक बजेटमार्फत आन्तरिक राजस्व विभागले सञ्चालन गर्ने यस कार्यक्रमअनुसार अब बिल लिने उपभोक्ताहरूमध्येबाट दैनिक १ जनाले रु. १ लाख ३३ हजार ३४ र महिनामा २ जनाले जनही रु. १० लाख को बम्पर उपहार प्राप्त गर्नेछन्।

दैनिक र बम्पर उपहार: कसले कति पाउँछन्?

कार्यविधिअनुसार आन्तरिक राजस्व विभागको डिजिटल प्रणालीबाट पूर्ण रूपमा स्वचालित (Automated System) ढङ्गले लक्की ड्र मार्फत विजेता चयन गरिनेछ।

१. दैनिक उपहार: हरेक दिन स्वचालित गोलाप्रथाबाट छानिने १ जना भाग्यशाली विजेताले रु. १ लाख ३३ हजार ३ सय ३४ नगद पाउनेछन्।

२. पाक्षिक बम्पर उपहार: महिनामा दुई पटक बम्पर उपहारको घोषणा हुनेछ। हरेक महिनाको १ गते र १६ गते हुने छनोटमा २ जना विजेताले जनही रु. १० लाख प्राप्त गर्नेछन्।

(नोट: महिनाको १ गते अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्मका बिलबाट र १६ गते सोही महिनाको १ देखि १५ गतेसम्म प्रविष्ट भएका बिलहरूबाट बम्पर विजेता छनोट गरिनेछ।)

सहभागी हुन के गर्ने? (प्रक्रिया)

नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोजनका लागि एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरी बिल लिने जुनसुकै नागरिक यस योजनामा सहभागी हुन योग्य हुनेछन्।

१. डिजिटल भुक्तानी गरेमा: यदि तपाईंले QR कोड, फोनपे वा अन्य विद्युतीय भुक्तानी मार्फत भुक्तानी गर्नुभयो भने तपाईंको कारोबार स्वत: सरकारी प्रणालीमा प्रविष्ट हुनेछ र एउटा उपहार टिकट प्राप्त हुनेछ।

२. नगद भुक्तानी गरेमा: नगदमा सामान खरिद गरी प्यान/भ्याट बिल लिएको खण्डमा उपभोक्ता स्वयंले आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एपमा गएर विवरण भर्नुपर्नेछ। जसमा बिल नम्बर, बिक्रेताको प्यान नम्बर, मिति, रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने हुन्छ।

    कस्ता बिलहरू उपहारका लागि अयोग्य हुनेछन्?

    सबै प्रकारका खरिद बिलहरू यस योजनामा समावेश हुने छैनन्। कार्यविधिले देहायका बिलहरूलाई अयोग्य ठहराएको छ:

    ❌ व्यापारिक/व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद बिल

    ❌ सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल

    ❌ टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी/ढुवानी सेवा र हवाई टिकटका बिल

    ❌ स्थायी लेखा नम्बर (PAN) नभएका पसल वा बिक्रेताबाट लिइएका बिल

    विजेता भएपछि उपहार रकम कसरी दाबी गर्ने?

    विजेता घोषणा भएपछि विभागले SMS, इमेल र आफ्नो आधिकारिक वेबसाइट/सामाजिक सञ्जालमार्फत नामावली सार्वजनिक गर्नेछ।

    समयसीमा: विजेताले सूचना पाएको १५ दिनभित्र दाबी गरिसक्नुपर्नेछ।

    आवश्यक कागजात: सक्कल बिल, आधिकारिक परिचयपत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/राष्ट्रिय परिचयपत्र), बैंक खाताको विवरण र प्यान (PAN) नम्बर।

    भुक्तानी र कर: कागजात प्रमाणीकरण भएको १० दिनभित्र आन्तरिक राजस्व विभागले विजेताको बैंक खातामा सोझै रकम पठाउनेछ। कानून अनुसार उपहार राशिमा २५ प्रतिशत आकस्मिक लाभ कर कट्टी गरिनेछ।

    दाबी नगरेमा: यदि तोकिएको १५ दिनभित्र विजेताले रकम दाबी नगरेमा सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिनेछ।

    स्मार्ट लाइसेन्सको वर्षौं पुरानो सास्ती एकाएक कसरी अन्त्य भयो? २७ लाख ‘ब्याकलग’ सकिएपछि अब २४ घण्टाभित्रै छापिँदै!

    सरकारको यस कदमले बजारमा हुने अनधिकृत कारोबार नियन्त्रण हुने, राजस्व सङ्कलनमा वृद्धि हुने र उपभोक्तामा पसलबाट अनिवार्य बिल माग्ने संस्कृतिको विकास हुने विश्वास लिइएको छ।

    तपाईंको प्रतिक्रिया

    Lekha Khabar on Facebook

    Facebook posts are loading…
    Lekhakhabar Logo

    विवेक खोई ?