‘पहिलो प्रश्नमै म हाँसेँ, ठट्टा ठानेको त गम्भीर पो रहेछन्’: एउटा मात्र प्रश्नपछि अन्तर्वार्ता छाडेर हिँडे

 श्रावण १८, २०८३

✍ लेखा खबर संवाददाता


‘पहिलो प्रश्नमै म हाँसेँ, ठट्टा ठानेको त गम्भीर पो रहेछन्’: एउटा मात्र प्रश्नपछि अन्तर्वार्ता छाडेर हिँडे

काठमाडौँ, साउन १८ । कम्पनीको समीक्षा राम्रो थियो, तलब आकर्षक थियो र पद पनि आफूले चाहेकै थियो। तर, यति राम्रो अवसर देखिँदा पनि एक व्यक्तिले आफ्नो अन्तर्वार्ताको पहिलो प्रश्न सुनेलगत्तै हल छाडेर बाहिरिने निर्णय गरे।

सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले आफूले भोगेको एउटा अनौठो अन्तर्वार्ताको अनुभव एक वर्ष अगाडी नै सेयर गरेका थिए, जुन अहिले पुनः भाइरल भइरहेको छ।

‘sahalymn’ नामका रेडिट प्रयोगकर्ताले पोस्टमा लेखेका छन्, “आज एउटा यस्तो पदका लागि मेरो अन्तर्वार्ता थियो, जसका लागि म निकै उत्साहित थिएँ। कामको विवरण उत्कृष्ट थियो, तलब राम्रो थियो र कम्पनीको समीक्षा पनि सकारात्मक थियो। म भित्र छिरेँ, हायरिङ म्यानेजरसँग हात मिलाएँ र हामी बस्यौँ।”

तर, कुराकानी सुरु हुनेबित्तिकै अन्तर्वार्ता लिने टोलीले पहिलो प्रश्न नै यस्तो सोध्यो, जसको उनले कल्पनासमेत गरेका थिएनन्।

उनीहरूले सोधे, “विना तलब ओभरटाइम (Unpaid Overtime) काम गर्नुपरे त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?”

यो प्रश्न सुन्दा उनलाई सुरुमा ठट्टा जस्तै लाग्यो र उनी हाँसे। तर, अन्तर्वार्ता लिने व्यक्तिको गम्भीर अनुहार देखेपछि उनी छक्क परे।

उनले अगाडि लेखेका छन्, “म सुरुमा ठट्टा ठानेर हाँसेँ। तर, अन्तर्वार्ता लिने व्यक्ति मतिर हेर्दै मेरो उत्तरको प्रतीक्षामा बसिरहे। मैले सोधेँ, ‘के ओभरटाइम अनिवार्य हो? र त्यसको अतिरिक्त पारिश्रमिक पाइन्छ?’ उनीहरूले जवाफ दिए, ‘हामी हाम्रा कर्मचारीहरूले काम नसकिएसम्म बसेर काम गरून् भन्ने अपेक्षा गर्छौँ। यहाँ सबैजना कामप्रति समर्पित छन् र हामी अतिरिक्त काम गरेको समय गणना गर्दैनौँ।'”

कम्पनीको सोच र कार्यशैलीबारे थाहा पाएलगत्तै ती उम्मेदवारले ढिलाइ नगरी आफ्नो निर्णय सुनाए। उनी तुरुन्तै उठे, अन्तर्वार्ताकारलाई धन्यवाद दिए र बाहिरिए।

“म उठेँ र भनेँ, ‘तपाईंको समयका लागि धन्यवाद, तर यो काम मेरो लागि उपयुक्त छैन।’ अनि म बाहिर निस्किएँ,” उनले पोस्टको अन्त्यमा लेखेका छन्। उनले ‘I walked out of an interview after one question. Was I wrong?’ (एउटा प्रश्नपछि नै म अन्तर्वार्ताबाट बाहिरिएँ, के मैले गल्ती गरेँ?) शीर्षकसहित रेडिटमा अन्य प्रयोगकर्ताहरूको धारणा पनि मागेका थिए।

यो पुरानो पोस्ट पुनः भाइरल भएपछि यसमा ४५ हजारभन्दा बढी प्रतिक्रिया आएका छन्। अधिकांश प्रयोगकर्ताहरूले ती पुरुषको निर्णयको प्रशंसा गर्दै उनले सही कदम चालेको बताएका छन्।

एक प्रयोगकर्ताले लेखेका छन्, “उनीहरूले सुरुमै सोधेका थिए- के तपाईं कम्पनीलाई आफ्नो शोषण गर्न दिन तयार हुनुहुन्छ? तपाईंले एकदमै सही निर्णय गर्नुभयो।”

खुल्यो ‘बाँदर हेरालु’ को जागिर, तलब महिनाको १२,५००!

त्यस्तै अर्का एक प्रयोगकर्ताले आफ्नो अनुभव सेयर गर्दै लेखेका छन्, “म वर्षौँसम्म मासिक तलबमा काम गरेँ र हप्तामा औसत ५० घण्टा खटेँ। तर, अब म कहिल्यै विना तलब ओभरटाइम काम गर्दिनँ। मैले प्रोजेक्ट म्यानेजरको काम छाडेर फेरि एनालिस्टकै काम सुरु गरेँ, किनकि ओभरटाइमको हिसाब गर्दा बढी तलब पाइने पदभन्दा तल्लो तहको काममै बढी फाइदा हुन्थ्यो।”

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?