असोज १९ देखि सस्तो र कम स्पीडको इन्टरनेट बन्द हुने, उपभोक्तालाई महँगो प्याकेज लिनुपर्ने बाध्यता

 असोज १६, २०८३

✍ लेखा खबर संवाददाता


असोज १९ देखि सस्तो र कम स्पीडको इन्टरनेट बन्द हुने, उपभोक्तालाई महँगो प्याकेज लिनुपर्ने बाध्यता

काठमाडौँ, १६ असोज । नेपालमा इन्टरनेट सेवा दिइरहेका सेवा प्रदायकहरूले आगामी असोज १९ गते सोमबारदेखि लागु हुने गरी कम स्पीड र सस्ता मूल्यका प्याकेजहरू बन्द गर्ने घोषणा गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) ले एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा देखिएका विविध आर्थिक चुनौतीका कारण साना तथा सुपथ मूल्यका प्याकेजहरू निरन्तरता दिन असमर्थ भएको जनाएको हो।

ISPAN का अनुसार विगत केही वर्षयता चुलिएको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण इन्धनमा भएको मूल्यवृद्धि, फाइबरको आकाशिँदो मूल्य, उच्च मुद्रास्फीति तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को तीव्र विकासले इलेक्ट्रोनिक्स र चिपसेटको मूल्यमा भएको भारी वृद्धिका कारण ISP हरूको सञ्चालन खर्च (Operation cost) धान्न कठिन भएको छ।

विज्ञप्तिमा भनिएको छ,

“विगतका वर्षहरूको मूल्यवृद्धि, इन्धन तथा फाइबरको बढेको मूल्य र AI को वृद्धिसँगै चिपसेटको मूल्य एक्कासी महँगिएका कारण ISP हरूको सञ्चालनमै सकस भएको छ। तसर्थ आगामी २०८३ असोज १९ गते सोमबारदेखि हाल दिइँदै आएका सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू उपलब्ध गराउन असमर्थ छौँ।”

डिजिटल नेपालमा योगदान र नयाँ निर्देशन

संघले विगत १२ वर्षमा नेपालको फिक्स्ड ब्रोडब्यान्ड पहुँच र घनत्व दक्षिण एसियामै पहिलो नम्बरमा पुगेको र विश्वकै सस्तो इन्टरनेट सेवामध्ये एक रहेको दाबी गरेको छ। कोरोना महामारीदेखि हालैका प्राकृतिक विपद् (भोटेकोशीको बाढी) सम्म निरन्तर सेवा प्रवाह गर्ने कर्मचारीहरूलाई संघले धन्यवाद ज्ञापन गरेको छ।

यसैबीच, ISPAN ले सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गराएको महसुल दर (Rate) आफ्ना आधिकारिक वेबसाइटमा स्पष्ट रूपमा देखिने गरी राख्न र सेवाको गुणस्तर अझ सुदृढ बनाउन निर्देशन दिएको छ। साथै, सेवा प्रदायकहरूसँग इन्टरनेट सेवा लिँदा अनिवार्य रूपमा भ्याट (VAT) बिल लिनसमेत ग्राहकवर्गलाई आग्रह गरिएको छ।

साना तथा सस्ता प्याकेजहरू हटाइएपछि उपभोक्ताहरूले न्यूनतम शुल्कमा पाउँदै आएको इन्टरनेट सेवाका लागि अब थप रकम तिर्नुपर्ने वा उच्च स्पीडका प्याकेजहरू लिनुपर्ने बाध्यता सिर्जना हुने देखिन्छ।

भारतमा नेपाली युवतीलाई ‘बच्चा जन्माउने मेसिन’ बनाउने अन्तरदेशीय गिरोहको खुलासा: १ करोड भारुको खेल र २० लाखको प्रलोभन

तपाईंको प्रतिक्रिया

Lekhakhabar Logo

विवेक खोई ?