इरानविरुद्धको युद्ध सुरु भएयता खाडी क्षेत्रमा कति जहाज आक्रमणमा परे?
काठमाडौँ, फागुन २८ । इरानविरुद्ध अमेरिका–इजरायलले सुरु गरेको युद्धका कारण खाडी क्षेत्रका बन्दरगाहहरू जोखिममा परेका छन् भने हर्मुज जलसन्धि हुँदै हुने विश्वव्यापी व्यापार पनि प्रभावित भएको छ। सामान्यतया विश्वको झन्डै पाँचौं भाग तेल र तरल प्राकृतिक ग्यास (LNG) यही मार्ग हुँदै ओसारपसार हुने गर्दछ।
इरानको रिभोलुसनरी गार्ड्सले उक्त साँघुरो जलसन्धि हुँदै आवतजावत गर्ने जुनसुकै जहाजलाई पनि निशाना बनाइने चेतावनी दिएको छ।
फागुन १६ (फेब्रुअरी २८) मा युद्ध सुरु भएयता भएका आक्रमणहरूको विवरण यसप्रकार छ:
मार्च १
ओमानको राजधानी मुस्कटभन्दा करिब ५० नटिकल माइल उत्तरतर्फ समुद्रमा यात्रा गरिरहेको मार्शल टापुको झण्डावाला कच्चा तेल बोक्ने ट्याङ्कर ‘MKD VYOM’ माथि क्षेप्यास्त्रजस्तो वस्तु प्रहार हुँदा चालक दलका एक सदस्यको मृत्यु भएको जहाज व्यवस्थापक कम्पनी V.Ships ले जनाएको छ।
संयुक्त अरब इमिरेट्सको रास अल खैमाहस्थित मिना साक्र बन्दरगाहभन्दा १७ नटिकल माइल उत्तर–पश्चिममा जिब्राल्टरको झण्डावाला इन्धन आपूर्ति गर्ने ट्याङ्कर ‘Hercules Star’ माथि प्रहार भएको छ। उक्त आक्रमणपछि लागेको आगलागी नियन्त्रणमा लिइएको बेलायतको युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन (UKMTO) ले जनाएको छ।
ओमानको कुमजारभन्दा दुई नटिकल माइल उत्तरतर्फ पलाउको झण्डावाला ट्याङ्करमाथि पनि आक्रमण भएको छ। अमेरिकी प्रतिबन्धमा रहेको ‘Skylight’ जहाजका चालक दललाई सुरक्षित रूपमा उद्धार गरिएको ओमानको समुद्री सुरक्षा केन्द्रले जनाएको छ।
मार्च २
बहराइनको बन्दरगाहमा अमेरिकी झण्डावाला उत्पादन ट्याङ्कर ‘Stena Imperative’ माथि दुईवटा क्षेप्यास्त्र प्रहार भएको UKMTO ले जनाएको छ। उक्त घटनापछि जहाजमा आगलागी भएको र चालक दललाई उद्धार गरिएको बताइएको छ।
मार्च ३
युएईको फुजैराह बन्दरगाहभन्दा ७ देखि १० नटिकल माइल टाढा मार्शल टापुको कच्चा तेल ट्याङ्कर ‘Libra Trader’ तथा पानामाको झण्डावाला बल्क क्यारियर ‘Gold Oak’ मा सामान्य क्षति पुगेको UKMTO ले जनाएको छ।
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
मार्च ४
ओमानभन्दा दुई नटिकल माइल उत्तरतर्फ जलमार्ग हुँदै गइरहेको माल्टाको झण्डावाला कन्टेनर जहाज ‘Safeen Prestige’ माथि प्रहार हुँदा इन्जिन कोठामा आगलागी भएको छ। उक्त घटनापछि जहाजका चालक दलले जहाज छोड्नुपरेको ढुवानी क्षेत्रका स्रोतहरूले बताएका छन्।
मार्च ५
इराकको खोर अल जुबैर बन्दरगाह नजिक लङ्गरमा रहेको कच्चा तेल ट्याङ्कर ‘Sonangol Namibe’ मा विस्फोट भएको अमेरिकी प्रतिनिधि कम्पनी सोनाङ्गोल मरीन सर्भिसेजले जनाएको छ।
प्रारम्भिक सुरक्षा मूल्याङ्कनअनुसार विस्फोटक पदार्थ बोकेको इरानी रिमोट–नियन्त्रित डुङ्गा प्रयोग गरी बहामासको झण्डावाला जहाजलाई लक्षित गरिएको दुई इराकी बन्दरगाह सुरक्षा स्रोतहरूले बताएका छन्।
मार्च ६
मार्च ४ मा आक्रमणमा परेको ‘Safeen Prestige’ जहाजसँग सञ्चालन कार्य गरिरहेको एउटा टगबोटमाथि पनि हर्मुज जलसन्धिमा, ओमानभन्दा करिब ६ नटिकल माइल उत्तरतर्फ, प्रहार भएको UKMTO ले जनाएको छ।
मार्च ७
UKMTO ले तेस्रो पक्षलाई उद्धृत गर्दै साउदी अरबको जुबैल बन्दरगाहभन्दा करिब १० नटिकल माइल उत्तरतर्फ ड्रोन आक्रमण भएको हुन सक्ने जनाएको छ। घटनापछि अधिकांश चालक दललाई उद्धार गरिएको बताइएको छ।
मार्च ११
हर्मुज जलसन्धिमा थाइल्याण्डको झण्डावाला बल्क क्यारियर ‘Mayuree Naree’ माथि प्रहार हुँदा जहाजमा आगलागी भएको छ। बैंककस्थित कम्पनी प्रिसियस सिपिङ (PSL) का अनुसार चालक दललाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
युएईको रास अल खैमाहभन्दा २५ नटिकल माइल उत्तर–पश्चिममा जापानको झण्डावाला कन्टेनर जहाज ‘One Majesty’ मा पनि प्रहार हुँदा सामान्य क्षति पुगेको छ।
दुबईभन्दा करिब ५० नटिकल माइल उत्तर–पश्चिममा मार्शल टापुको झण्डावाला बल्क क्यारियर ‘Star Gwyneth’ को बाहिरी भाग (हुल) मा क्षति पुगेको समुद्री जोखिम व्यवस्थापन कम्पनी भ्यानगार्डले जनाएको छ। UKMTO का अनुसार यसबाट वातावरणीय प्रभाव नपरेको र चालक दल सुरक्षित रहेको छ।
इराक नजिकै खाडी क्षेत्रमा मार्शल टापुको ‘Safesea Vishnu’ र माल्टाको ‘Zefyros’ इन्धन ट्याङ्करमाथि आक्रमण भएपछि इराकका तेल बन्दरगाहहरूको सञ्चालन पूर्ण रूपमा रोकिएको छ। एक बन्दरगाह सुरक्षा अधिकारीका अनुसार एक विदेशी चालक दल सदस्यको शव समुद्रबाट फेला परेको छ।
(रोयटर्सबाट )

तपाईंको प्रतिक्रिया