वैशाख ५ गतेदेखि ‘सवारी मुक्त असन’: अब असनको मौलिकतामा ढुक्कले पैदल यात्रा
काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा व्यापारिक केन्द्र असनको प्राचीन मौलिकता जोगाउन आगामी वैशाख ५ गतेदेखि ‘भेहिकल फ्री असन’ कार्यक्रम सुरु गर्ने भएको छ। महानगरको यो निर्णयसँगै अब हरेक शनिबार असन क्षेत्रभित्र सवारी साधन प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइनेछ।
धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिने असनलाई ‘जीवन्त र समृद्ध’ बनाउने लक्ष्यका साथ यो योजना अघि सारिएको हो। यसअघि चैत २८ गतेबाटै यो कार्यक्रम सुरु गर्ने तयारी भए पनि तयारीलाई अझ थप व्यवस्थित र मजबुत बनाउन एक हप्ता पछाडि सारिएको महानगरले जनाएको छ।
महानगर र सरोकारवालाको साझा प्रतिबद्धता
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडा नं. २७ का वडाध्यक्ष योगेश खड्गी, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी र स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “असन हाम्रा लागि नुनदेखि सुनसम्म र जन्मदेखि मृत्युसम्मका हरेक संस्कारसँग जोडिएको ठाउँ हो। यसको प्राचीन र सांस्कृतिक ओज कायम राख्नु हाम्रो दायित्व हो। स्थानीयबासीको सुरक्षा र सहजतालाई प्राथमिकतामा राखेर यो कार्यक्रमलाई दिगो बनाउनु पर्छ।”
काठमाडौँ महानगरले साझा यातायातसँग मिलेर वैशाख १ गतेदेखि रात्रिकालीन बस सञ्चालन गर्ने
कुन-कुन मार्ग हुनेछन् सवारी मुक्त?
‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत मुख्यतया तीनवटा प्रवेश मार्गहरूमा सवारी साधन निषेध गरिनेछ:
१. कमलाक्षी चोकदेखि असनसम्म
२. भोटाहिटी चोकदेखि असनसम्म
३. महाबौद्धदेखि असनसम्म
यी क्षेत्रहरूमा हरेक शनिबार सवारी साधन प्रवेश गर्न पाउने छैनन्। वैकल्पिक मार्गका रूपमा अन्य सहायक सडकहरूको व्यवस्थापन ट्राफिक प्रहरीले गर्नेछ। वडाध्यक्ष योगेश खड्गीका अनुसार यस कार्यक्रमले असनको मौलिकता प्रवर्धन गर्नुका साथै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा ठूलो टेवा पुर्याउनेछ।
सुरक्षा र व्यवस्थापनको जिम्मा महानगर प्रहरीलाई
असनलाई ‘सम्पदा मार्ग’ का रूपमा विकास गर्दै त्यहाँका रैथाने व्यापार र परम्परागत पेशालाई प्रोत्साहन गरिने योजना छ। पैदल यात्रीहरूले ढुक्कसँग हिँडडुल गर्न पाउने वातावरण सिर्जना भएपछि व्यापारिक गतिविधि अझ बढ्ने अपेक्षा गरिएको छ। कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सुरक्षा व्यवस्थापनको जिम्मेवारी महानगर प्रहरी बललाई दिइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि वैकल्पिक मार्ग र पार्किङ व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यो कदमले काठमाडौँको भित्री शहरलाई ‘पेडेस्ट्रियन फ्रेन्डली’ (पैदल यात्री मैत्री) बनाउने महानगरको दीर्घकालीन योजनामा एउटा इँटा थप्ने विश्वास गरिएको छ।
झण्डाले देश जोगाउने कि झण्डा बोकेरै देश जलाउने? इरानको ‘मानव साङ्लो’ ले नेपालीलाई सोधेको प्रश्न

तपाईंको प्रतिक्रिया