प्रधानमन्त्रीदेखि सांसदसम्म: रास्वपामा कसले कति बुझाउनुपर्ने पार्टी लेबी?
काठमाडौँ, बैशाख ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र संसदमा रहेका आफ्ना जनप्रतिनिधि तथा उनीहरूका स्वकीय सचिवालयका कर्मचारीले पार्टीलाई बुझाउनुपर्ने मासिक लेबी (शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री, मन्त्री, सांसद र स्वकीयहरूको लेबी निर्धारण गर्ने प्रस्ताव पारित गरेको हो।
यस्तो छ लेबीको दर
पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकले तहगत रूपमा लेबीको दर छुट्याएको छ:
१. प्रधानमन्त्री र मन्त्रीहरू: मासिक १८,००० रुपैयाँ
२. सांसदहरू: मासिक १६,५०० रुपैयाँ
३. स्वकीय सचिव (PA): मासिक २,००० रुपैयाँ
बुर्लाकोटीका अनुसार पार्टी सञ्चालन र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन यो निर्णय गरिएको जानकारी दिएका छन्। हाल रास्वपाबाट १८२ जना सांसद र सरकारमा १६ जना मन्त्रीहरू रहेका छन्।
स्वकीय राख्नेबारे अन्योल कायमै
बैठकले स्वकीयहरूको लेबी तोके पनि सांसदहरूले स्वकीय सचिव राख्न पाउने कि नपाउने भन्ने विषयमा भने अझै अन्तिम निर्णय भइसकेको छैन।
गरिबीको कारण मेहनत नगर्नु मात्र होइन, राज्यको असफलता पनि हो: गृहमन्त्रीलाई खुला प्रश्न
पार्टीका तर्फबाट राज्यका उच्च ओहोदामा पुगेका व्यक्तिहरूले आफ्नो पारिश्रमिकको निश्चित हिस्सा पार्टीलाई बुझाउनुपर्ने अभ्यास नेपालका राजनीतिक दलहरूमा पुरानो हो। तर, रास्वपाले कर्मचारी (स्वकीय) को समेत लेबी तोकेपछि यसबारे विभिन्न टीकाटिप्पणी सुरु हुनसक्ने देखिएको छ।

तपाईंको प्रतिक्रिया