नैतिकताको आधारमा गृहमन्त्री सुधन गुरुङको राजीनामा: ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्दै पद त्याग

 बैशाख ०, २०८३

✍ लेखा खबर संवाददाता


गृहमन्त्री सुधन गुरुङको राजीनामा

काठमाडौँ, बैशाख ९ । विवादित व्यवसायीसँगको सेयर कारोबारमा नाम मुछिएपछि चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा प्रभावशाली मन्त्रीका रूपमा रहेका गुरुङले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।

विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट गम्भीर प्रश्न उठेपछि गुरुङले सामाजिक सञ्जालमार्फत पद त्यागको जानकारी गराएका छन्। चैत १३ गते गृह प्रशासनको नेतृत्व सम्हालेका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिँदै पदभन्दा नैतिकता ठूलो भएको उल्लेख गरेका छन्।

“४६ जना भाइ–बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि प्रश्न उठ्दा त्यसको जवाफ नैतिकता नै हुनुपर्छ,” राजीनामाको घोषणा गर्दै उनले भनेका छन्, “आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ (Conflict of Interest) नदेखियोस् भन्ने मेरो चाहना हो।”

भन्सारको दुईमुखे नीति: विमानस्थलबाट ‘लाखौँको आइफोन’ लाई रातो कार्पेट, नाकामा ‘एक दर्जन केरा’ मा आतंक!

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् गठन गरेकै दिन गृहमन्त्री नियुक्त भएका गुरुङले सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीहरूलाई पक्राउ गरेर चर्चा कमाएका थिए। तर, पछिल्लो समय व्यवसायीसँगको सम्बन्धलाई लिएर उनी आलोचनाको केन्द्रमा परेका थिए। उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि उनले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउने निर्णय गरेका हुन्।

राजीनामा दिने क्रममा गुरुङले सञ्चारकर्मीहरूमाथि पनि नैतिकताको प्रश्न उठाएका छन्। “कति मिडियाकर्मी साथीहरूको कहाँ–कहाँ ‘स्वीट शेयर’ छ, त्यो पनि बिस्तारै आउला,” उनले कटाक्ष गर्दै भनेका छन्, “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।”

उनले आम नेपाली र युवाहरूलाई सम्बोधन गर्दै साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन अपिल गरेका छन्।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?