अमेरिका सपना त्यागेर नेपालमै गेम उत्पादन गर्दै तीन युवा, अन्तरराष्ट्रिय गेमिङ जगतमा स्थापित हुँदै ‘म्याड यति गेम्स’

नेपालमै अवसर खोज्दै, अन्तरराष्ट्रिय प्रतिश्पर्धि बन्ने प्रयास
काठमाडौं, श्रावण १५। नेपालका तीन युवाहरूले संसारभरका गेमप्रेमीहरूलाई लक्षित गर्दै एक विश्वस्तरीय फ्यान्टेसी गेम निर्माणको अन्तिम तयारी गरिरहेका छन्। ‘म्याड यति गेम्स (Mad Yeti Games)’ नामक स्टार्टअप स्थापना गरेका अविनव आचार्य, अविनाश आचार्य र सागर गिरी सन् २०२३ मा Software Engineering/Computer Science अध्ययन पूरा गरेका स्नातक हुन्।
उनीहरू विद्यालय स्तरको कक्षा ९ बाटै गेम निर्माणमा रुचि राख्दै आएका हुन्। हालसम्म उनीहरूले सुपर ड्यास, क्यान्डी क्युब्स, क्लासिक लुडो लगायतका विभिन्न मोबाइल गेमहरू सार्वजनिक गरिसकेका छन्, जसले हजारौं डाउनलोड र प्रयोगकर्ताको मन जित्न सफल भएका छन्।
अहिले उनीहरू Shifting Castle नामक नयाँ फ्यान्टेसी गेममा काम गरिरहेका छन्
गेम डेभलपर अभिनाश आचार्यका अनुसार, यो गेममा खेलाडीले जादुमय हतियार प्रयोग गरी टाढाका शत्रुहरूलाई परास्त गर्नु पर्नेछ, र गेमको कथा प्रयोगकर्ताको प्रगति अनुसार अगाडि बढ्दै परिवर्तन हुँदै जान्छ। “हामी मनोरञ्जनका लागि मात्र होइन, गुणस्तरीय गेम जसले प्रयोगकर्तालाई लामो समयसम्म गेममा बाँधेर राख्न सकोस् भन्ने सोचमा काम गर्दैछौं,” अविनवले बताए। उनीहरू अहिले डियरवाक कलेजको इनक्युबेसन सेन्टरमा बसेर आफ्ना परियोजनाहरूमा व्यस्त छन्।
उनीहरूको उद्देश्य मुख्यतया विकसित मुलुकका प्रयोगकर्तालाई लक्षित गरेर गेम बेच्ने र विदेशी मुद्रा भित्र्याउने हो।
गेम प्रोग्रामर सागर गिरी भन्छन्:
हामी अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्ने दीर्घकालीन रणनीतिमा छौं। त्यसैले हाल हामी अन्तर्राष्ट्रिय दर्शकहरूलाई आकर्षित गर्न सक्ने विषयवस्तुमा आधारित खेलहरू विकास गरिरहेका छौं। यस प्रक्रियामार्फत विदेशी बजारबाट राजस्व भित्र्याउने हाम्रो लक्ष्य छ। यद्यपि, हाम्रो पहिचान र मुल्यांकनलाई ध्यानमा राख्दै, समयसँगै हाम्रा खेलहरूमा नेपाली संस्कृति, कला र कथावस्तुलाई सूक्ष्म तर प्रभावकारी रूपमा समावेश गर्ने योजना पनि रहेको छ।
हाल उनीहरू विभिन्न प्रोजेक्टमा काम गरेर आफ्ना आर्थिक पक्ष व्यवस्थापन गर्दै आएका छन्। प्राविधिक कलाकार अभिनव आचार्यका अनुसार, सेवामा आधारित स्टार्टअपहरूमा मात्र नभई, मनोरञ्जन क्षेत्रका स्टार्टअपहरूमा पनि लगानी हुन आवश्यक छ। नेपालमा लगानी संस्कृतिको विकास हुनुपर्ने उनीहरूको स्पष्ट धारणा छ।
अन्तरवार्तामा उनीहरूले इजरायलको प्रविधिमा आधारित विकास मोडललाई प्रेरणादायी मानेका छन्। “प्रविधिको माध्यमबाट राष्ट्र विकास सम्भव छ, यदि इजरायलजस्तै प्रविधिमा लगानी गरेर अघि बढ्न सक्यौं भने,” अविनाशले बताए।
खेल निर्माणको क्षेत्रलाई उनीहरूले निष्पक्ष (bias-free) र प्रविधिको एकाधिकार नभएको (non-monopolized) प्लेटफर्म मानेका छन्।
नेपालमै बसेर काम गर्नु उनीहरूको विचारमा सबैभन्दा उपयुक्त विकल्प हो। “विदेशमा गएका भए बसोबास खर्च नै थेग्न मुस्किल पर्थ्यो, तर आफ्नै देशमा काम गर्दा आर्थिक पक्ष केही सहज हुन्छ,” सागर गिरी बताउँछन्। यद्यपि उनीहरूले केही चुनौतीहरू पनि औंल्याएका छन्-जसमा डलर कार्ड समस्या, दक्ष वेब प्रविधिकारहरूको अभाव, कुशल एनिमेटर र कन्सेप्ट कलाकारहरूको कमी प्रमुख छन्।
तर, समग्रमा उनीहरू आशावादी छन्। प्राविधिक उन्नति, लगानी संस्कृतिको विकास र आफ्ना गेमप्रति विश्वासले उनीहरूलाई अघि बढ्न हौसला दिइरहेको छ। यदि सबै कुरा योजना अनुसार भयो भने, Shifting Castle गेमको डेमो संस्करण यही दशैंअघि सार्वजनिक गर्ने तयारी उनीहरूको रहेको छ।
उनीहरूले विकास गरेका खेलहरू प्लेस्टोर र एपस्टोरमा उपलब्ध छन्। तलका लिङ्कहरूबाट तपाईंले सजिलै डाउनलोड गरी खेल्न सक्नुहुन्छ:
प्लेस्टोर: Mad Yeti Games Playstore
एपस्टोर: Mad Yeti Games Appstore
Website: madyetigames.com
तपाईंको प्रतिक्रिया