जेनजी आन्दोलनपछि प्रहरीहरूका ४८ एसपी र ९० डीएसपीहरुको सरुवा

 असोज ०२, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौँ, असोज २ । जेनजी आन्दोलनपछि काठमाडौँसहित देशभरका प्रहरीहरूको जिम्मेवारी एकसाथ हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गर्ने निर्णय गरेका हुन्। 

सरुवाको यो निर्णयसँगै काठमाडौँ प्रहरी परिसरका २ जना नै एसपी परिवर्तन गरिएको छ। एसएसपीको कमान्डमा हुने काठमाडौँमा प्रमुख पनि तत्कालै हेरफेर गर्ने तयारी गृह मन्त्रालयले गरेको छ। 

कतिपय स्थानमा सरुवाको समय भइसकेको र कतिपय स्थानमा भने तत्काल आवश्यकताका आधारमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको दाबी छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहरा र कुलदीप चन्द सरुवा भएका छन्। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरी पनि सरुवा भएका छन्। उनको स्थानमा नरेशराज सुवेदीले जिम्मेवारी पाएका छन्। सुवेदी यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनमा कार्यरत थिए। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा नारायण प्रसाद चिमरिया र सिताराम रिजाललाई ल्याइएको छ। यस्तै सीआईबीमा पनि एसपीहरू हेरफेर भएका छन्। 

भदौ २३ र २४ गते भएको आन्दोलनमा तीन प्रहरीसहित ७३ जनाको मृत्यु भएको छ। प्रदर्शनकारीको आक्रमणमा मारिने तिनैजना प्रहरी काठमाडौँमा कार्यरत थिए। महाराजगन्ज वृत्तमा कार्यरत २ जना र कोटेश्वर प्रभागमा कार्यरत एक जना प्रहरी मारिएका हुन्। 

२३ गते प्रहरीले अत्याधीक बल प्रयोग गर्दा स्थिति बिग्रिएको थियो। प्रहरीको उक्त कार्यको आलोचना भइरहेको छ।  

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5