नेपालको इतिहासमा पहिलो पटक ज्यानमुद्दामा पूर्वप्रधानमन्त्री पक्राउ: केपी ओली र रमेश लेखक प्रहरी नियन्त्रणमा

 चैत १४, २०८२

✍ लेखा खबर संवाददाता


केपी ओली पक्राउ

काठमाडौं, १४ चैत । बालेन शाह नेतृत्वको सरकार गठन भएको केही घण्टाभित्रै नेपालको राजनीतिले एउटा अभूतपूर्व मोड लिएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।

कसरी भयो पक्राउ?

भक्तपुरको गुण्डुस्थित निवासबाट शनिबार बिहान पूर्वप्रधानमन्त्री ओलीलाई अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो। ओलीलाई नियन्त्रणमा लिन प्रहरी टोली शुक्रबार रातभर उनको निवासबाहिर तैनाथ थियो। यस्तै, पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि आजै बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको छ।

पक्राउको कारण: भदौ २३ को ‘जेनजी’ आन्दोलन

गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा १९ जनाको ज्यान जाने गरी भएको दमनको अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ओली र लेखकमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ (हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने) अन्तर्गत कसुर गरेको आरोप लगाइएको छ। यस दफामा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

सरकारको ‘फास्ट ट्रयाक’ निर्णय

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। नवनियुक्त गृहमन्त्री सुदन गुरुङको निर्देशनमा कानुन सचिव पारश्वर ढुंगानाले रातभर खटिएर कानुनी कागजात तयार पारेका थिए। प्रहरीले अदालतको पूर्व अनुमति विना नै ‘जरुरी पुर्जी’ का आधारमा ओली र लेखकलाई नियन्त्रणमा लिएको हो।

कानुनी प्रक्रिया

महान्यायाधिवक्ता कार्यालयका अनुसार, जाँचबुझ आयोगको प्रतिवेदनका अतिरिक्त मृतक र घाइतेका परिवारले दिएको जाहेरीलाई पक्राउको मुख्य आधार बनाइएको छ। पक्राउ परेका दुवै नेतालाई स्वास्थ्य परीक्षण गरी हिरासतमा राखिनेछ र २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइनेछ।

बालेन सरकार: मन्त्रिपरिषद्‌मा ४० मुनिका युवाको वर्चस्व र समावेशी अनुहार

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?