इजरायली आक्रमणमा अल जजीराका पत्रकार मारिए; गाजामा ज्यान गुमाउने पत्रकारको संख्या २६२ पुग्यो
काठमाडौँ, २६ चैत । इजरायली ड्रोनले गाजा शहरको पश्चिमी भाग, अल-राशिद सडकमा यात्रा गरिरहेको अल जजीरा मुबाशरका संवाददाता मोहम्मद विशा को सवारीसाधनमा सीधा आक्रमण गरेको छ। घटनास्थलमै विशा र अर्को एक व्यक्तिको विभत्स रूपमा जलेर मृत्यु भएको छ। उद्धार टोलीले जलेको गाडीबाट उनीहरूको शव निकालेका थिए।
सन् २०१८ देखि गाजाबाट रिपोर्टिङ गर्दै आएका विशाले युद्धको क्रूर यथार्थ संसारसामु उजागर गर्दै थिए। अल जजीरा मिडिया नेटवर्कले यसलाई “घृणित अपराध” र “नियोजित तथा लक्षित हत्या” भनेर कडा निन्दा गरेको छ। गाजाको सरकार मिडिया अफिसले यो हमला पत्रकारहरूलाई डराउने र सत्य गाड्ने इजरायली रणनीतिको हिस्सा भएको बताएको छ।
२६२ पत्रकार मारिए – आधुनिक इतिहासकै सबैभन्दा ठूलो पत्रकार संहार
अल जजीरा र गाजा अधिकारीहरूका अनुसार, २०२३ अक्टोबर ७ यता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनी पत्रकार र मिडिया कर्मीहरूको संख्या २६२ पुगेको छ। गाजा अहिले मिडिया कर्मीहरूका लागि संसारकै सबैभन्दा खतरनाक ठाउँ बनेको छ। इजरायलले पत्रकारहरूलाई एकपछि अर्को गर्दै मारेर युद्धका अपराधका प्रमाणहरू गायब पार्ने प्रयास गरिरहेको देखिन्छ।
इजरायलको नरसंहारको अँध्यारो पक्ष
गाजा अहिले खुला आकाशमुनिको कसाईखाना बनेको छ। अस्पताल, विद्यालय, शरणार्थी शिविर र बस्तीहरूमा निरन्तर बमबारी भइरहेको छ। हजारौं बालबालिका लगायत दशौं हजार निर्दोष नागरिक मृत्युको मुखमा परेका छन्। भग्नावशेषमुनि हजारौं शवहरू थिचिएका छन्। यो युद्ध ‘आत्मरक्षा’ होइन, बरु प्यालेस्टिनी अस्तित्व नै मेटाउने जातीय नरसंहार (genocide) को अभियान हो। तर मानवअधिकारको ठूलो ठूलो कुरा गर्ने पश्चिमी शक्तिहरू र विश्व समुदाय यो नरसंहार हेरेर पूर्ण मौन बसेका छन्। उनीहरूको यो मौनता तटस्थता होइन, अपराधमा सहयोग हो।
अमेरिका र इरानबीच १५ दिने युद्धविरामपछि पनि लेबनानमा इजरायली आक्रमण जारी
अमेरिका र इरानबीच ‘हर्मुज जलडमरू’ खुला राख्ने सर्तमा दुई हप्ताको युद्धविरामको सहमति भएको भोलिपल्टै इजरायलले लेबनानमा सबैभन्दा भयानक बमबारी गरेको छ। अप्रिल ८ मा एकै दिनमा २५० भन्दा बढी मानिस मारिएका छन् – यो लेबनान युद्धको सबैभन्दा रक्तपातपूर्ण दिन हो। इजरायलले अमेरिका-इरान ceasefire लेबनानमा लागू नहुने बताएको छ र हिजबुल्लाहविरुद्ध आक्रमण जारी राख्ने घोषणा गरेको छ।
अमेरिका र इरानबीच १५ दिने युद्धविराम: ‘सभ्यताकै अन्त्य’ हुने चेतावनीपछि कसरी सम्भव भयो सहमति?
बेरूतका बस्ती, व्यावसायिक क्षेत्र र दक्षिण लेबनानमा बिना चेतावनी ठूलो संख्यामा हवाई आक्रमण गरिएका छन्। इजरायलले १० मिनेटभित्रै १०० भन्दा बढी लक्ष्यमा हमला गरेको दाबी गरेको छ।
क्रूर यथार्थ
एउटा पत्रकार फेरि मारियो। गाजाले फेरि एउटा आँखा गुमायो। इजरायलले एकपछि अर्को गर्दै पत्रकारहरूको क्यामेरा र घाँटी निमोठेर गाजाभित्र भइरहेको नरसंहारको पूर्ण तस्बिर बाहिर आउन नदिने प्रयास गरिरहेको छ।
मोहम्मद विशा मारिए, तर उनी र सयौं मारिएका पत्रकारहरूले छोडेको प्रश्न अझै बाँकी छ- यो नरसंहार रोक्न विश्वले कहिले आँखा खोल्ने? कति निर्दोषको रगत बगिसकेपछि मात्र यो नरसंहारलाई नरसंहार भन्ने?

तपाईंको प्रतिक्रिया