‘कक्रोच जनता पार्टी’: भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि सामाजिक सञ्जालमा व्यङ्ग्य र आन्दोलनको आँधी

 जेठ ०७, २०८३

✍ लेखा खबर संवाददाता


cockroach-janta-party-india-gen-z-protest

काठमाडौं, जेष्ठ ७ । बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेसन्स (PR) मा भर्खरै स्नातक गरेका ३० वर्षीय अभिजित दिप्केले सामाजिक सञ्जालमा ठट्टा गर्दै गरेको एउटा पोस्टले भारतमा यति ठूलो रूप लेला भनेर सोचेका पनि थिएनन्। अहिले उनी अनलाइनमा तीव्र रूपमा फैलिरहेको एउटा व्यङ्ग्यात्मक राजनीतिक अभियान – ‘कक्रोच जनता पार्टी’ (साङ्ला जनता पार्टी) को नेतृत्व गरिरहेका छन्, जसमा हरेक दिन हजारौँ युवाहरू जोडिन थालेका छन्।

के थियो प्रधानन्यायाधीशको त्यो विवादित बयान?

गएको शुक्रबार भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले एउटा मुद्दाको खुला सुनुवाइका क्रममा देशका युवाहरूलाई “साङ्ला (Cockroaches)” सँग तुलना गरेका थिए।

उनले भनेका थिए:

“केही युवाहरू साङ्ला जस्ता हुन्छन्, जसले न कुनै रोजगारी पाउँछन्, न आफ्नो पेसामा कतै स्थान नै बनाउन सक्छन्। त्यसपछि तिनीहरू कोही मिडिया, कोही सामाजिक सञ्जाल त कोही आरटीआई (सूचनाको हक) कार्यकर्ता बन्छन् र प्रणालीमाथि नै आक्रमण गर्न थाल्छन्।”

प्रधानन्यायाधीशले पछि आफ्नो बचाउ गर्दै आफूले नक्कली शैक्षिक प्रमाणपत्र बोक्नेहरूलाई मात्र त्यसो भनेको र देशका पिलर मानिने युवाहरूलाई लक्षित नगरेको स्पष्टीकरण त दिए, तर त्यतिन्जेलसम्ममा सामाजिक सञ्जालमा आक्रोशको डढेलो लागिसकेको थियो।

ठट्टाबाट सुरु भएको ‘कक्रोच जनता पार्टी’

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भारतीय जनता पार्टी (BJP)’ लाई व्यङ्ग्य गर्दै अभिजित दिप्केले ‘कक्रोच जनता पार्टी’ को वेबसाइट र सामाजिक सञ्जाल अकाउन्टहरू खोले।

“सत्तामा बस्नेहरूले नागरिकलाई साङ्ला र परजीवी (Parasites) ठान्छन्,” दिप्केले सिकागोबाट अल जजिरासँग कुरा गर्दै भने, “उनीहरूलाई थाहा हुनुपर्छ कि साङ्लाहरू कुहिएको ठाउँमै जन्मन्छन्, र आजको भारत त्यस्तै कुहिएको ठाउँ बनेको छ।”

युवाहरूको अभूतपूर्व साथ:

३० लाख फलोअर्स: यो पार्टीको इन्स्टाग्राम अकाउन्ट खोलेको तीन दिनमै ३० लाख (३ मिलियन) भन्दा बढी फलोअर्स पुगेका छन्।

३ लाख ५० हजार सदस्य: साढे ३ लाखभन्दा बढी युवाहरूले गुगल फर्ममार्फत यसको सदस्यता लिइसकेका छन्।

विशिष्ट व्यक्तिहरूको समर्थन: विपक्षी सांसद महुआ मोइत्रा, पूर्व सांसद कीर्ति आजाद र अवकाशप्राप्त सरकारी कर्मचारी आशिष जोशी जस्ता हस्तीहरूले पनि यसमा ऐक्यबद्धता जनाएका छन्।

किन आक्रोशित भए भारतीय ‘जेन-जी’ (Gen Z) युवा?

भारतमा अहिले स्नातक (Graduate) तह उतीर्ण गरेका युवाहरूमा बेरोजगारीको दर २९.१ प्रतिशत पुगेको छ, जुन विद्यालय नै नगएकाहरूको तुलनामा ९ गुणा बढी हो। १२ वर्षदेखि सत्तामा रहेको मोदी सरकारको पालामा बढ्दो महँगी, बेरोजगारी र धार्मिक विभाजनका कारण युवाहरू पहिले नै निराश थिए। त्यसमाथि परीक्षाका प्रश्नपत्रहरू लगातार ‘लिक’ भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएकै हप्ता देशका प्रधानन्यायाधीशबाट यस्तो टिप्पणी आएपछि युवाहरूको धैर्यको बाँध फुटेको हो।

राजदूत बन्न के-के योग्यता चाहिन्छ? यस्तो छ मापदण्ड र छनोटको नयाँ प्रक्रिया

यस्तो छ कक्रोच जनता पार्टीको ‘घोषणापत्र’

यो व्यङ्ग्यात्मक पार्टीमा आबद्ध हुनका लागि दिप्केले ४ वटा रोचक मापदण्ड राखेका छन्:

१. बेरोजगार हुनुपर्ने २. अल्छी हुनुपर्ने ३. चटक्कै अनलाइनमा झुण्डिरहने ४. व्यावसायिक रूपमा गाली गर्न/कराउन सक्ने

एक्स (ट्विटर) मा यो पार्टीको नारा छ: “युवाको, युवाद्वारा, युवाका लागि राजनीतिक मोर्चा। धर्मनिरपेक्ष – समाजवादी – लोकतान्त्रिक – अल्छी।”

नेपाल र बङ्गलादेशमा जस्तै जेन-जी (Gen Z) युवाहरूको मुभमेन्टले दक्षिण एसियामा राजनीतिक उथलपुथल ल्याइरहेका बेला, भारतमा सुरु भएको यो डिजिटल व्यङ्ग्य विद्रोहले मोदी सरकार र त्यहाँको न्याय प्रणालीलाई ठूलो दबाब दिएको छ।

Aljazera

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?