चोरेरै करोडपति: १ करोडको गाडी, साढे ३ तले घर, बैंकमा लाखौँ!
६५ तोला सुन गायब पार्ने ‘उस्ताद’ चोर प्रेम थारुविरुद्ध ६ करोड २२ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ, जेष्ठ १३। चोरीको पैसा मोजमस्तीमा उडाउने सामान्य चोरको कथाभन्दा फरक छ, प्रेम थारुको कथा। प्रहरीले गोली हानेर समातेका यी ‘उस्ताद’ चोरले चोरीलाई पेसा मात्र होइन, अकुत सम्पत्ति आर्जनको माध्यम बनाएका छन्। चोरेरै उनले साढे ३ तले पक्की घर ठड्याएका छन् भने १ करोड मूल्यको टोयटा हाइलक्स गाडी चढ्छन्।
बाँके घर भई काठमाडौँमा सक्रिय थारु चोरीमा यति खप्पिस छन् कि उनले टार्गेट बनाएपछि फरकै नखाने प्रहरी बताउँछन्। गत माघमा लुगा सुकाउन छतमा गएको मौकामा उनले एकै पटक ६५ तोला सुन गायब बनाएका थिए। गोली हानेर समात्दा प्रहरीले उनीबाट करिब ७६४ ग्राम सुन र १ किलो चाँदी बरामद गरेको थियो।
चोरीबाटै ६ करोड २२ लाख १६ हजार २१६ रूपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अहिले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
घरमा १६ देशका मुद्रा, बैंकमा १८ लाख
प्रहरीले बाँकेस्थित उनको घरमा खानतलासी गर्दा विभिन्न १६ देशका मुद्राहरू भेटेको छ। जसमा अमेरिकी डलर, चिनियाँ युआन, अस्ट्रेलियाली डलरदेखि कतारी रियालसम्म छन्। यसबाहेक उनको घरबाट विदेशी बैंकका एटीएम, हात्तीको पुच्छरको रौं, र विभिन्न सिक्काहरू पनि बरामद भएका छन्, जसले उनले विदेशी पर्यटकलाई पनि लुटपाट गरेको हुन सक्ने आशंका उब्जाएको छ। यस्तै, विभिन्न बैंक खातामा १८ लाख बढी नगद मौज्दात भेटिएको छ।
कर्मचारी तलब वृद्धि ! आगामी बजेटमा के होला ?
नाम परिवर्तन गर्दै चोरी, पेरोलको दुरुपयोग
थारुले आफ्नो वास्तविक परिचय लुकाउन सुप्रिम, विकास, सौरभ जस्ता उपनाम प्रयोग गर्ने र फेला परेका नागरिकतामा फोटो उप्काएर आफ्नो फोटो टाँस्ने गरेको पाइएको छ। यसअघि २ पटक मुद्दा चलिसकेका उनी पटके अभियुक्त हुन्।
हैरानीको कुरा त के छ भने, ३ वर्षको कैद भुक्तान गरिरहेका उनी ‘असल चालचलन’ भएको भन्दै सरकारले दिने ‘पेरोल’ सुविधा अन्तर्गत २५ जेठ २०८२ मा कारागारबाट छुटेका थिए। नत्र उनी २०८२ मंसिरसम्म कारागारमै हुनुपर्ने थियो। पेरोलमा छुटेको केही समयमै उनले पुनः अपराधको ठूलो शृंखला चलाए।

तपाईंको प्रतिक्रिया