नेपालमा अब १८ देखि ३५ वर्षकालाई ‘युवा’ भनिने, राष्ट्रिय युवा नीति परिमार्जन

 भदौ १२, २०८२

✍ लेखा खबर संवाददाता


राष्ट्रिय युवा परिषद्का पदाधिकारीहरू नयाँ युवा नीतिका विषयमा छलफल गर्दै

१६-४० बाट १८-३५ वर्ष: किन घट्यो युवाको उमेरहद?

काठमाडौं, भदौ १२ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिलाई ‘युवा’ मानिने भएको छ। यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति–२०७२ अनुसार युवाको उमेर समूह १६ देखि ४० वर्ष रहेको थियो।

परिमार्जित नीतिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखेर युवाको नयाँ परिभाषा गरिएको छ। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले ‘बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि मध्यनजर गरेर यो परिवर्तन गरिएको’ बताएका छन्।

नीतिका मुख्य ध्येय र लक्ष्यहरू

नयाँ युवा नीतिले युवालाई सक्षम, जिम्मेवार र राष्ट्र निर्माणमा सार्थक सहभागी बनाउने विषयलाई मूल ध्येय बनाएको छ। यसका मुख्य लक्ष्यहरूमा निम्न बुँदाहरू समेटिएका छन्:

– युवाको सर्वाङ्गीण विकास गर्नु।

– राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु।

– राष्ट्रभाव भएको सदाचारी र सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्नु।

युवा सशक्तीकरण र उद्यमशीलतामा जोड

नयाँ नीतिले युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन विभिन्न कार्यक्रममा जोड दिएको छ। यस अन्तर्गत स्टार्टअप, व्यवसाय प्रवर्द्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र, र करिअर काउन्सिलिङ जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ। यसबाहेक, युवाको ज्ञान, सीप र पुँजीलाई उपयोग गर्न प्रोत्साहनमूलक कार्यक्रमहरू पनि ल्याइनेछ।

नीतिमा परम्परागत सीपको आधुनिकीकरण, हरित कृषि रोजगार कार्यक्रम, व्यावसायिक तालिम र उद्यमशीलता प्रतियोगिता सञ्चालन गर्ने विषय पनि उल्लेख छ। व्यावसायिक सुरक्षा, बीमा, सहुलियतपूर्ण कर्जा र कर छुटजस्ता प्रोत्साहनमार्फत युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ।

प्रविधिमैत्री राष्ट्र निर्माणमा युवाको भूमिका

नयाँ युवा नीतिले अनुसन्धान, अन्वेषण र प्रविधिमा युवाको समावेशी सहभागितामा विशेष जोड दिएको छ। यसले प्रविधिमा युवाको सहज पहुँच र उच्चतम उपयोगलाई सुनिश्चित गर्दै साइबर सुरक्षालाई पनि प्राथमिकता दिएको छ। यसका साथै, नीतिले युवाको नेतृत्वदायी भूमिकालाई बढाउँदै समाज रूपान्तरण र राष्ट्र निर्माणमा परिचालन गर्ने लक्ष्य राखेको छ। यसबाट स्वस्थ, शिक्षित, सकारात्मक सोचयुक्त, नैतिकवान्, उद्यमशील, सिर्जनशील र कर्तव्यप्रति निष्ठावान् युवा शक्ति तयार हुने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?