ट्रमा सेन्टरमा मृत्यु हुनेमा चारै जनाको मुटुमै लागेको थियो गोली

 भदौ २४, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौंमा प्रदर्शनका क्रममा गोली लागेका घाइते ट्रमा सेन्टरमा उपचाररत

काठमाडौँ, २४ भदौ – सोमबार नयाँ पुस्ताका युवा (जेनजी) ले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीले ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न चिकित्सकका अनुसार चार जनाको मुटुमै गोली लागेर मृत्यु भएको पुष्टि गरिएको छ।

बरिष्ठ न्यूरो सर्जन डा. राजिव झाले बताए अनुसार अस्पताल आइपुग्नुअघि नै उनीहरूको मुटुको अगाडि गोलीले प्वाल पारेको अवस्थामा भेटिएको थियो। निरन्तर सीपीआर गरिए पनि बचाउन नसकिएको उनले जानकारी दिए। उनका अनुसार अन्य आठ जनाको टाउको र शरीरका विभिन्न भागमा गोली लागेर गम्भीर अवस्था छ।

डा. झाले थपे, ‘‘केही बिरामीमा गोली छालामुनि अड्किएको छ। तत्काल निकाल्दा अझै रक्तस्राव भई अवस्था जटिल हुने भएकाले सावधानीपूर्वक उपचार भइरहेको छ।’’

घाइते विद्यार्थी र युवा स्कुल–कलेजको ड्रेस र ब्यागमै अस्पताल पुर्‍याइएको चिकित्सकहरूले बताएका छन्। उनीहरूको उपचारका लागि वीर अस्पतालसहित विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोली परिचालित छ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सोमबार रातभर पाँच वटा ओटी कक्ष सञ्चालन गरेर आठ जनाको मेजर र १५ जनाभन्दा बढीको माइनर सर्जरी गरिएको हो। गम्भीर घाइतेलाई आवश्यक अनुसार आईसीयूमा सारिएको छ।

प्रदर्शनमा ४ सयभन्दा बढी घाइते भएका छन् भने १९ जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ।
ट्रमा सेन्टर

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…
Lekhakhabar Logo

विवेक खोई ?