रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत

 भदौ ०८, २०८२

✍ लेखा खबर संवाददाता


सुटकेसभित्र फेला परेकी रुबी देवी साहको शवको सनाखत रौतहटमा

काठमाडौँ, भाद्र ८- रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार मृतक महिला माधव नारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी देवी साह रहेको पुष्टि भएको हो।

गत शनिबार राति सदरमुकाम गौर–२ महादेव पट्टीस्थित सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो। स्थानीयले जानकारी दिएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो। आज बिहान प्रहरीले सुटकेस खोलेपछि साहको शव फेला परेको हो।

साह ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्किएकी थिइन्। बेलुका ६ बजेदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरे पनि फेला नपरेकी थिइन्। अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक रुद्र कँडेलका अनुसार, मृतकको आमाले सुटकेसमा रहेको शव आफ्नी छोरी भएको पुष्टि गरेकी हुन्।

मृतक रुबी देवी साह रौतहटको माधवनारायण नगरपालिका–६, रक्सा टोल निवासी साधु शरण साहकी बुहारी हुन्। उनका श्रीमान् शिव सागर साह र अन्य परिवारजन घटनाबाट आहत भएका छन्।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको छ र प्रारम्भिक अनुसन्धानले यो हत्या प्रकरण भएको देखाएको छ। प्रहरीले घटनाको सम्पूर्ण विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।

सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

रौतहटमा भएको यो घटना स्थानीय बासिन्दा मात्र होइन, सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ। प्रहरीको अनुसन्धानबाट घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचान चाँडै हुने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5