दसैँमा यात्रुहरूको सहज यात्राका लागि यातायात व्यवस्थापनमा विशेष तयारी सुरु, नयाँ सवारी थप्ने सम्भावना

काठमाडौँ , असोज ४। दसैँ नजिकिँदै गर्दा यात्रुहरूको सहज यात्राका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनमा विशेष तयारी थालेको छ। यसका लागि मन्त्रालयमा शनिबार सरोकारवाला निकायका प्रतिनिधिहरू सहित छलफल गरिएको छ ।
कार्यक्रममा यात्रुहरूको चापलाई मध्यनजर गरी सडकको अवस्था, सवारी साधनको व्यवस्थापन, भाडादर, र सुरक्षा जस्ता विभिन्न पक्षमा छलफल गरिएको हो । मन्त्रालयले यातायात व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ।
विशेषगरी चाडपर्वको समयमा सडकमा हुने अवरोध, खाल्डाखुल्डी र अन्य समस्याहरूलाई समाधान गर्न तत्काल पहल गरिएको छ भने पानी परेर सडक बिग्रिएको अवस्थामा त्यसको व्यवस्थापन र मर्मतमा विशेष ध्यान दिइएको मन्त्रालयले जनाएको छ ।
यसैगरी यात्रुहरूको मागलाई सम्बोधन गर्न अपुग सवारी साधनको व्यवस्थापन गरिने भएको छ भने सम्भव भएसम्म नयाँ सवारी साधन थप गर्ने वा हाल रहेका साधनको पूर्ण उपयोग गर्ने बताइएको छ ।
मन्त्रालयले चाडपर्वको अवसरमा गरिने यात्राहरूलाई सुरक्षित र आनन्ददायी बनाउन सबै नागरिकहरूको साथ र सहयोगको अपेक्षा गरेको मन्त्री कुलमान घिसिङले बताए ।
तपाईंको प्रतिक्रिया