सेवासुविधा काटेपछि धितोपत्र बोर्ड कर्मचारी आन्दोलनमा, अध्यक्षसहितका राजीनामा माग्दै

काठमाडौं , असोज ७ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध कर्मचारीहरुले नाराबाजी गरेका छन् । खुमलटारस्थित बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठविरुद्ध कर्मचारीले धर्नासहित विरोध गरेका हुन् ।
बोर्ड स्रोतका अनुसार श्रेष्ठ अर्थ मन्त्रालय जान्छु भनेर निस्किन ठीक्क पर्दा कर्मचारीले उनलाई घेरेका हुन् । कर्मचारीहरूले अध्यक्ष तथा कार्यकारी निर्देशकहरूको राजिनामा मागेका छन् ।
खासगरी अर्थ मन्त्रालयको एक निर्णय कार्यान्वयन गराउन अध्यक्ष श्रेष्ठले गरेको एक निर्णयको विरोधमा कर्मचारी आक्रोश भएका हुन् ।
हाल कार्यरत कर्मचारीसहित अबकाश पाएका कर्मचारीले कल्याणकारी कोषलगायतबाट लिएको कर्जालगायत रकम ब्याजसहित फिर्ता गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।
राजस्व सचिव दिनेश कुमार घिमिरेले सचिस्तरीय निर्णयबाट बोर्डका कर्मचारीले खाइपाई आएको सुविधा र कर्जा सुविधा कटौती गर्ने निर्देशन दिएका थिए ।
जसको विरोधमा बोर्डका दुवै कर्मचारी युनियनले अध्यक्ष श्रेष्ठ र कार्यकारी निर्देशकहरुलाई निर्णय सल्ट्याउन वा राजिनामा दिन माग गरेका छन् । कर्मचारीले उच्च अधिकारीहरुको गाडी चाबी खोसेर राखेका छन् ।
बोर्डका कर्मचारी मंगलबार बोर्डको सभाहलमा बैठक बसेर निर्णय नसच्चिएसम्म काममा नफर्किने तय गरेर नाराबाजी गरेका हुन् । उनीहरूले बोर्डमा तालाबन्दी समेत गरेका छन् ।
तपाईंको प्रतिक्रिया