शीतलहरले कठ्याङ्ग्रिँदै मधेश: पराल र घुरको सहारामा रात कटाउँदै विपन्न परिवार
काठमाडौं, पुष ९ – पछिल्ला केही दिनदेखि मधेशमा शीतलहरको कहर तीव्र बन्दै जाँदा विपन्न र दलित बस्तीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। धनुषाको हंसपुर नगरपालिका–२ बघचौडाका ६२ वर्षीय बौएलाल सदा जाडोका कारण रातभर निदाउन सक्दैनन्।
पातलो चादर ओढेर परालमा सुत्ने उनी चिसो सहन नसकेपछि राति–राति उठेर घुर बाल्दै शरीर तताउन बाध्य छन्।
“भरपेट खानै मुस्किल छ, न्यानो ओढ्ने कहाँबाट ल्याउनु ?” उनले दुःखेसो पोखे।
ओढ्ने–ओछ्याउने अभावले वृद्ध र बालबालिका प्रभावित
सदाकी श्रीमती सनेचरी देवी पनि जाडोले कठ्याङ्ग्रिरहेकी छन्। ऐलानी जग्गामा बनेको खर–परालको छानो भएको जीर्ण घरमा उनीहरूको दैनिकी चलिरहेको छ। खेतमा झरेका धानका बाला टिपेर कुटेको चामलले साँझ–बिहान टार्ने उनीहरूका लागि एउटा कम्बलसमेत ठूलो सपना बनेको छ।
उही बस्तीकी ६५ वर्षीया केसोदेवी सदा दिउँसै अँगेनामा घुर ताप्दै भेटिन्छिन्।
“पराल र एउटा कम्बलमै सात जना सुत्छौं,” उनले पीडा सुनाइन्।
मधेशमा शीतलहरको कहर सँगै पूरै बस्ती जाडोको जोखिममा
बौएलाल, केसोदेवी र दुःखनी सदा मात्र होइन, बस्तीका अधिकांश परिवारमा न्यानो कपडा, ओढ्ने र ओछ्याउनेको अभाव छ। कतिपय बालबालिकाका खुट्टामा चप्पलसमेत छैन। जाडो बढ्दै जाँदा वृद्धदेखि साना बालबालिकासम्म बिरामी पर्न थालेका छन्।
यी बस्ती मात्र होइनन्। मधेशका प्रायः सबै स्थानीय तहमा यस्तै विपन्न समुदाय छन्, जहाँ शीतलहरले जनजीवन थप कठिन बनाइरहेको छ।
शीतलहर बढेपछि कतिपय स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएका छन्। तर विपन्न बस्तीलाई लक्षित गरी ओढ्ने–ओछ्याउने वितरणमा खासै तयारी देखिँदैन।
हंसपुर नगरपालिकाका मेयर प्रदीप यादवले भने केही घरपरिवारमा मात्रै समस्या रहेको दाबी गर्दै दाउरा वितरण र कम्बल खरिदबारे निर्णयको तयारी भइरहेको बताए।
मधेशमा शीतलहरको कहर सँगै मधेशका विपन्न बस्तीमा मानवीय संकट गहिरिँदै गएको छ। समयमै प्रभावकारी राहत नपुगे जाडोले थप जनधन क्षति पुर्याउने खतरा बढ्दै गएको छ।
४२ स्थानीय तहमा बजेट ढिलाइ: मधेशमा सबैभन्दा धेरै समस्या देखापर्यो




तपाईंको प्रतिक्रिया