उखु किसानको आन्दोलन : सरकारले तोकेको अनुदान नपाएको गुनासो

 भदौ ०८, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौंमा अनुदान नपाएर आन्दोलनमा उखु किसानहरू

काठमाडौँ, भाद्र ८- सरकारले तोकेको अनुदान रकम नपाएको भन्दै तराई-मधेशका उखु किसानहरूले राजधानी काठमाडौंमा आन्दोलन गरेका छन्। बजेट अभाव देखाउँदै सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ दिँदै आएको अनुदान आधा घटाएर ३५ रुपैयाँमा सीमित गरेपछि किसानहरू आन्दोलित बनेका हुन्।

उखु उत्पादक महासंघको अगुवाइमा काठमाडौं आएका किसानहरूले गौशालाबाट जुलुस निकाल्दै माइतीघर मण्डला र बानेश्वर चोकमा प्रदर्शन गरे। उनीहरूले सरकारले तोकेको ७० रुपैयाँ अनुदान तत्काल उपलब्ध गराउन माग गरे।

महासंघका संयोजक श्यामबाबु रायले चिनी मिलहरूले प्रतिक्विन्टल ५८५ रुपैयाँको दरले किसानलाई पैसा दिइसके पनि सरकारले दिने भनिएको अनुदान अझै नपाएको गुनासो गरे। उनका अनुसार सरकारले आफैंले उखुको मूल्य निर्धारण गरेर पछि अनुदान घटाएको किसानहरूको लागि अस्वीकार्य छ।

रायले आन्दोलनमा कोशीदेखि सुदूरपश्चिमसम्मका किसानहरूको सहभागिता रहेको बताए। सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीबाट करिब ५०० देखि ६०० किसान काठमाडौंमा आएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षकै दरमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरे पनि मन्त्रिपरिषद्ले स्वीकृति नदिई अनुदान घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेको हो।

आर्थिक वर्ष २०८१/८२ मा मात्र देशभरका १३ चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए। त्यसअनुसार सरकारले करिब १ अर्ब ६० करोड रुपैयाँ अनुदान अझै भुक्तानी गर्न बाँकी रहेको किसानहरूको दाबी छ।

भोलीदेखि निजी शैक्षिक संस्थाहरू आन्दोलन गर्दै, संसदमा विचाराधीन शिक्षा विधेयकप्रति गहिरो असन्तुष्टि

किसानहरूले सरकारले अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता गर्नुपर्ने र तोकिएकै ७० रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5