देउवा, प्रचण्ड र खड्काको घरमा भेटिएका जलेका नोटको अनुसन्धान सुरु 

 असोज ०६, २०८२

✍ लेखा खबर संवाददाता


काठमाडौं , असोज ६ । जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएका भनिएका जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेताहरूको घरमा भेटिएका जलेका नोटको नमूना संकलन गरी अनुसन्धान सुरु गरेको हो ।

विभागले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएका नोटको नमूना संकलन गरी अनुसन्धान सुरु गरेको हो।

विभागले सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा जलेका नोटको नमूना संकलन गरेको छ भने खुमलटारस्थित अध्यक्ष दाहालको डेरामा पनि नमूना संकलनको काम सुरु गरेको छ ।

यस्तै पूर्वमन्त्री खड्काको घरमा जलेका नोटको पनि नमूना संकलन गरिएको छ।

विभागको टोलीले देउवा, दाहाल र खड्काको जलेको घरमा पुगेर मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । टोलीले तीनै जना नेताहरूको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ ।

कांग्रेस सभापति देउवाको सचिवालयले भने जलेको रकम भेटिएको र रकम राख्न सुरुङ नै प्रयोग गरिएको दाबीसहितका भिडिओहरू भ्रामक भएको जिकिर गरेको थियो।

देउवाका सहयोगी भानु देउवाले २ असोजमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएको उल्लेख गरेका छन्।

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले देउवा र खड्काको बूढानीलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि दुवैका घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

ती भिडियो र फोटोको फरेन्सिक जाँच भइसकेको छैन । घर जलेको तेस्रो दिनपछि प्रहरीले दुवै नेताका घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो । घटनाको डेढ सातापछि विभागले अनुसन्धान सुरु गरेको हो ।

जलेका नोट सक्कली भएको पुष्टि भए उनीहरूमाथि अनुसन्धान थालिने विभागले जनाएका छ ।

‘जलेका नोट सक्कली भएको पुष्टि भए सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिनेछन् भने यसरी आर्जन गरेको सम्पत्ति पनि जाँचबुझ र अनुसन्धान दायरामा आउनेछ’, विभागका एक कर्मचारीले भने ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar5